खुकुलो ‘मोडालिटी’ सहित उपत्यकामा १० दिन निषेधाज्ञा थप, के खुल्छ, के खुल्दैन ?

फाइलफोटो

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म थप भएको हो ।

बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ ।

यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न दिने, ढुवानी सामग्री राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने, बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न दिइने जनाइएको छ ।

यस्तै, उद्योगहरुलाई कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न दिने, वैदेशिक रोजगारीमा जानेलाई पासपोर्ट तथा भिसाको आधारमा आवतजावत गर्न दिइनेछ ।

केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अन्तिम पटक थपिएको म्याद जेठ २० गते सकिँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here