काठमाडौं, २० जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानाकारी गराएको हो ।
बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित थियो ।
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ ।
तर, हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य संगठनले समेत आधिकारिकरुपमा केही बताएको छैन् । नेपालका जनस्वास्थ्य अधिकारीले पनि नेपाल भेरियन्टबारे अनबिज्ञता जनाउंदै दोस्रो लहरका बेला देखिएको भाइरस भारतीय भेरियन्टको भएको बताइरहेका छन् ।