पाँच महिनासम्म स्वास्थ्यकर्मीकै बीमा रकम अड्काउँदै मणिपाल शिक्षण अस्पताल

काठमाडौं, २० जेठ । कोभिड–१९ महामारीमा जनताको जीवन वचाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिने मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै बीमावापतको रकम पाउन गाह्रो परेको छ ।

पोखराको फुलबारीस्थित मणिपालले कर्मचारी तथा स्वास्थ्यकर्मीको बीमा वापतको रकम बुझेको पाँच महिना भइसक्दा पनी उनीहरुलाई भुक्तानी दिएको छैन । अस्पतालले गत माघमै बीमा कम्पनीबाट रकम बुझे पनी कर्मचारीलाई नदिएको हो ।

अस्पतालले कर्मचारीको सुबिधाको लागी बीमा गर्ने र पछी रकम नदिनु गलत भएको बीमा समितिले बताएको छ । ‘यो समितिको नियमन भन्दा बाहिरको कुरा हो तर रकम बुझेर कर्मचारीलाई नदिनु चै गलत हो’ समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने ।

उता रकम दिन आनाकानी गरेको भन्दै अस्पतालका कर्मचारी विरोधमा उत्रिएका छन् ।

पटकपटक ताकेता गर्दा पनि आफूले बीमा रकम नपाएको भन्दै कर्मचारीहरुको एक समूहले बैशाख २१ गते अस्पताल प्रशासनमा विरोधपत्र बुझाएको थियो । त्यसपछी पटक पटक कर्मचारी र प्रशासनबीच छलफल भएपनी सहमती हुन नसकेको हो ।

क्लाउडपत्रिकालाई उपलब्ध गराइएको निवेदनपत्रमा २७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले हस्ताक्षर गरेका छन् ।

अस्पतालका विभिन्न विभागमा कार्यरत २७ जना कर्मचारीले हस्ताक्षरसहित सो निवेदनमा विमा कम्पनीले अस्पताललाई वीमा रकम बुझाएको करीव छ महिना भइसक्दा पनि हालसम्म आफुहरुले रकम नपाएको उल्लेख छ ।

‘कोरोना संक्रमितले पाउनुपर्ने रकम प्रतिव्यक्ती १ लाख रुपैयाँ अस्पताले लिएको लामो समय भइसक्यो’ एक कर्मचारीले भने, ‘अझै पनि हामीले सो रकम पाएका छैनौं ।’

मणिपाल कर्मचारी युनियन समन्यव समितिले उक्त रकम सम्बन्धित संक्रमितहरुलाई प्रदान गरि पाँउ भन्दै निवेदनमार्फत अस्पताललाई आग्रह गरेको छ । अस्पतालले भने संक्रमित वीमितहरुलाई वीमाको रकम उपलब्ध नगराउने उद्देश्य नरहेको जिकिर गरेको छ ।

अहिले फेरी कोरोना संक्रमण बढेकोले सबै संक्रमितलाई ५० प्रतिशत रकम दिने योजना रहेको अस्पतालको भनाइ छ । बाँकी ५० प्रतिशत रकम वेलफेयर फण्ड बनाएर राख्न आग्रह गरेकोमा कर्मचारीले सहमति नजनाएका हुन् ।

तर अस्पतालका कर्मचारी भने यो कानुन भन्दा बाहिरको भन्दै आफूहरुले शतप्रतिशत रकम पाउनुपर्ने भन्दै निरन्तर विरोध गरिरहेका छन् ।

‘त्यो कोरोना संक्रमित व्यक्तिको अधिकार हो । नेपाल सरकारको कोरोना बीमा मापदण्ड अनुसार राष्ट्रसेवक कर्मचारीको सामूहिक बीमा गर्दा शतप्रतिशत उपलब्ध गराउनुपर्ने नियम छ,’ एक कर्मचारीले भने ।

अस्पताल र कर्मचारीबीच शुक्रवार पुनः छलफल गर्न लागिएको संयोजक जीवन थापाले जानकारी दिए । साथै यसपटकको छलफलबाट ठोस निर्णय आउने विश्वास उनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here