उपत्यकाभित्र परिवर्तित निषेधाज्ञा लागू, के खोल्न पाइन्छ, के पाइदैन ?

काठमाडौं, २१ जेठ । उपत्यकाभित्र खुकुलो पारिएको निषेधाज्ञा शुक्रबारबाट शुरु भएको छ। जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउने तर पहिलेभन्दा केही खुकुलो बनाउने निर्णयअनुसार आजबाट निषेधाज्ञा लागू गरिएको हो।

उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बुधवारको बैठकले १० दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने गरी निर्णय थियो।

पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवारबाट सकिएको थियो। जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिनेछ ।

आजबाट काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन्। वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खेलेर सेवा दिन पाउने छन्।​

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् ।

उपत्यकाका तीन जिल्लामा सञ्चालित तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास तथा किराना पसल, डिमार्पमेण्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कशपहरुको सामग्री किनबेचका पसलहरु खुला हुने भएका छन् ।

थपिएको निषेधाज्ञामा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्किन भनेको छ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ।