कोरोनाको ‘तेस्रो र चौथो लहर’ को चेतावनी, जोखिममा बालबालिका

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिलो र दोस्रो लहर जस्तै तेस्रो र चौथो लहर पनि आउने सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को तेस्रो लहर आउनसक्ने जनाउँदै २० प्रतिशत शय्या बालबालिकाको उपचारका लागि छुट्याउन देशभरका अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको हो ।

मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गरेका हुन्।

‘सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ’, सूचना भनिएको छ ।

उनले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गरेका छन् । मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ ।

प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए।

यससँगै स्वास्थ्य मन्त्रालयले अक्सिजनको पनि व्यवस्थापन समेत गर्न सचेत गराएको छ। स्वास्थ्य मन्त्रालयले यो पत्र स्वास्थ्य सेवा विभाग, सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाएको छ।

त्यस्तै, यसमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि एसोसिएसन अफ प्राइभेट एन्ड डेन्टल कलेज अफ नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)लाई अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here