शेयर बजारमा उच्च अंकको वृद्धि, एकैदिन बनायो दुई रेकर्ड

काठमाडौं, २३ जेठ । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९०६ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सेले २९०० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत विहिबार हालसम्मकै उच्च २८५६ विन्दु चुमेको थियो । कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ ।

एकैदिन १७ अर्ब २७ करोड बढीको कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

यसदिन नेप्से ५०.१४ अकले बढेर २९०६. ९१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् ।

नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु साढे १ प्रतिशत भन्दा धेरैले बढेर बन्द भएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.५४ प्रतिशतले बढेर ५२१.०० अंकको विन्दुमा बन्द भएको छ ।

विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै १४५. १६ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ११२.६८ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड र लुम्बिनी विकास बैंक ५४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

गुडविल फाइनानस, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, नेपाल बंगलादेश बैंक ९ प्रतिशत, मेगा, मितेरी डेभलपमेन्ट, पोखरा फाइनान्स, निफ्रा र लक्ष्मी बैंकको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here