बुलुङ स्वास्थ्यचौकीलाई अक्सिजनसहितको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–३ बुलुङस्थित बुलुङ स्वास्थ्यचौकीलाई काठमाडौंमा बसोबास गर्ने युवाहरूले सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । विभिन्न पेसा व्यवसायका लागि बुलुङबाट काठमाडौं आएर बसोबास गरिरहेका युवाहरूको समूहले आइसोलेसन बेड र अक्सिजनसहितको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

विष्णुराज (दिपक) आचार्यको संयोजकत्वमा कवन आचार्य, ओमकृष्ण आचार्य, रविन खड्का तथा पुष्कर मल्ल ठकुरीलगायत थुप्रै युवाहरूको सक्रियतामा करिब साढे दुई लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हिजो शनिबार बुलुङ स्वास्थ्यचौकीका इञ्चार्ज सरोज आचार्यलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा १० हजार थान सर्जिकल मास्क, केएन९५ मास्क २ हजार ३१६ थान, भरिएको अक्सिजन सिलिण्डर ३ थान (२० लिटरको १ थान र १० लिटरको २ थान), ब्ल्याङ्केट र आवश्यक सामग्रीसहितको आइसोलेसन बेड ३ थान, सेनिटाइजर २५ लिटर, अक्सिजन रेगुलेटर ३ थान छन् । त्यस्तै अक्सिमिटर ३ थान, फेसमास्क २५ थान, पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) ७ सेट, २० थान थर्मोमिटर, १००० थान हात धुने साबुनलगायत सामग्री सहयोग गरिएको नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका ओमकृष्ण आचार्यले जानकारी दिए ।

त्यसैगरी महिला दिदीबहिनीहरूका लागि सो समूहले सेनेटरी प्याड ५०० थान र डेलिभरी प्याड ५० थान पनि उपलब्ध गराएको छ । त्यस्तै स्वास्थ्यचौकीका स्प्रे भाँडो १ थान, ग्लोब्स २ बट्टा तथा संक्रमितका लागि ७ क्रेट अण्डा, ३२ किलो गेडागुडी र भिटामिन ट्यावलेटलगायत सामग्री पनि हस्तान्तरण गरिएको संयोजक दिपक आचार्यलेले बताए ।

उल्लेखित सामग्री २ लाख ३६ हजार ८३५ रूपैयाँ बराबरको भएको आचार्यको भनाइ छ । यी स्वास्थ्य सामग्री संकलनका लागि काठमाडौंमा बसोबास गर्दै आएका बुलुङका ४३ जना युवाहरूले न्यूनतम १ हजार ५०० रूपैयाँदेखि अधिकतम १५ हजार ५०५ रूपैयाँसम्मको स्वेच्छिक आर्थिक सहायता गरेको नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य समेत रहेका समाजसेवी एवं यो अभियानका अभियन्ता पवन आचार्यले बताए ।

आपतकालीन अवस्थामा थालिएको यो गैरराजनीतिक अभियानले आफ्नो गाउँवासीलाई लक्षित गरी कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि पहल जारी राख्ने बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँमा आवश्यक स्वास्थ्य सामग्रीलाई केन्द्रित गरी आगामी अभियान शुरू गरिने अभियन्तामध्येका राजन आचार्यले जानकारी दिए ।

कार्यक्रममा दोलखाली समाजसेवीद्वय गणेश शिवाकोटी र उमेश खड्काले बुलुङका युवाहरूले विपदको समयमा गरेको यो पहल अत्यन्तै सराहनीय र उदाहरणीय भएको बताए । राज्यको सम्पूर्ण स्रोत र शक्ति परिचालन गर्दा पनि कोरोना नियन्त्रणमा कठिन भइरहेको बेलामा नागरिकस्तरबाट भएको यो पहल प्रशंसनीय र सहयोगी भएको उनीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here