एक सातामा १३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ८ अर्बमा सीमित

काठमाडौं, २५ जेठ । निषेधाज्ञासँगै सुस्ताएका बाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढ्न थालेको छ । नेपाल बैंकर्स संघले जारी गरेको जेठ तेस्रो हप्ताको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै बढ्न थालेको हो ।

देशैभर निषेधाज्ञा जारी रहँदा गत साता जेठ १४ गते देखि जेठ २१ गतेसम्ममा १३ अर्बमात्र निक्षेप संकलन हुँदा ८ अर्ब कर्जा प्रवाह भएको छ ।

जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको थियो । जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।

अघिल्लो सातासम्मा ३६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकले यो साता अर्थात जेठ तेश्रो सातामा ३६ खर्ब ३४ अर्ब रुपैयाँ कुल कर्जा लगानी गर्न सफल भएका छन् ।

जेठको दोश्रो सातामा निक्षेप घटाएका बैंकहरुले तेश्रो सातामा भने १३ अर्ब रुपैयाँले बढाएर ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुर्याएका छन् । अघिल्लो साता यो रकम ३९ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै थियो ।

जेठको पहिलो साताको तुलनामा दोस्रो साता (जेठ ८–१४) गतेसम्म निक्षेप ५ अर्ब रुपैयाँले घटेको थियो ।

निषेधाज्ञाका बेला बैंकका सीमित शाखा खुल्नु, मानिसको आवतजावत ठप्पप्रायः हुनु तथा बन्दाबन्दीका बेला औषधि र घर खर्चका लागि मानिसहरुले नगद घरमै राख्नु आदि कारणले निक्षेप संकलन घटेको बैंकरहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here