सीईडीबी हाइड्रोपावरको आइपीओ बुधबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं, २५ जेठ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरिएको २५ लाख १८ हजार २ सय ३० कित्ता र संस्थापकहरुले लगानी गरेको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर सूचीकरण भएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनी लाई नेप्सेले कारोबारका लागि CEDB संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३८.७९ देखि ४१६.३७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यो रेन्ज भित्रको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

यसको अर्थ भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयमा शेयर किनबेच सुरु हुनेछ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका थिए ।

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।