सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

काठमाडौं, २६ जेठ । बुक बिल्डिङ विधिबाट सर्वसाधरणमा सेयर (आइपीओ) जारी गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गते बिशेष साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी कुल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार १० गते विशेष साधरण सभा बोलाएको छ । उक्त सभाले अनुमोदन गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

यस्तै, कम्पनीले साधरण सभामा जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक र सर्वसाधरणको सेयर पूँजी अनुपात मिलान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत विशेष प्रस्ताव पनि एजेण्डाको रुपमा लैजाने भएको छ ।

कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको छ । सोमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि, ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र बाँकी २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

सर्वोत्तमले यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबीएल एस क्यापिटललाई सहायक विक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले यसअघि आइपीओ जारी गर्न रेटिङ समेत गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तमको आइपीओलाई ‘इक्रा एनपी९आइआर बीबीबी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने अवस्था औसतभन्दा राम्रो रहेको जनाउँदछ । हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here