सेनाले फास्ट ट्रयाकको डीपीआरको काम अघि बढायो, कुदेश र श्रीपाली मन्दिर जोगाइने

fast track

क्लाउडपत्रिका

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट आशयपत्र (इओआई) माग गरी १५ दिने सूचना समेत प्रकाशन गरिसकेको जंगी अड्डाले जानकारी दिएको छ ।
सेनाका अनुसार उसले डीपीआर तयार गर्नका लागि १५ दिन भित्र स्वदेशी तथा विदेशी कम्पनीहरुबाट निवेदन प्राप्त हुने गरी यही चैत १४ गते सूचना आव्हान गरेको छ ।

भारतीय कम्पनी आईएल एण्ड एफसीले यसअघि गरेको गरेको डीपीआर खरीद नगर्ने निर्णय सरकारले गरेपछि काठमाडौं र तराई जोड्ने सबैभन्दा छोटो दुरीको मार्गका लागि पुनः परियोजना प्रतिवेदन बनाउनु पर्ने स्थिति आएको हो ।

द्रुतमार्गको मार्गाधिकार (आरओडब्ल्यु) भित्र परेका निजी तथा ऐलानी जग्गाहरुको मुआब्जा र घर टहराहरुको क्षतिपूर्ती बितरणमा पनि उल्लेख्य प्रगति भएको सेनाले बताएको छ । ‘काठमाण्डौ तथा मकवानपुर जिल्लामा अधिकांश मुआब्जाका काम सकिएको छ । ललितपुरको खोकना ईलाकामा रहेको मुआब्जा विवाद निराकरणको लागि सम्बन्धीत सरकारी निकाय, स्थानिय जनप्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्षहरुसँग विभिन्न चरणमा छलफल भईरहेको छ,’ सेनाले भन्यो ।

उसका अनुसार खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिर लगायतका पुरातात्विक महत्वका संरचनाहरुलाई यथावत बचाई राख्न तथा मुआब्जा विवादलाई सरलीकरण गर्न पनि सेना प्रयासरत छ ।

सडक निर्माणलाई गति दिन सेनाले हालै पाँच नया सुरक्षा वेस क्याम्प खडा गरेको छ । निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ सेनाले पहिलो चरणमा गत साउनको दोस्रो साताबाट काठमाडौंको मख्खुबेशी, मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेव गरी पाँच स्थानमा बेस क्याम्प खडा गरेको थियो । हालै मात्र उसले ललितपुरको खोकना, मकवानपुरको ठिंगन, महादेवटार तथा राजमार र बाराको निजगढ गरी थप पाँच स्थानमा अस्थायी क्याम्प खडा गरेको छ ।

अहिले फास्ट ट्रयाकमा माटो परीक्षण, माटो काट्ने, भर्ने र नाली बनाउनेलगायत काम भइरहेको छ । आयोजनालाई थप गति दिई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यअनुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीहरुलाई विभिन्न स्थानहरुमा कार्य गर्ने गरी सम्झौता गरिएको सेनाको भनाइ छ । साथै, ५ निर्माण व्यवसायीहरुसँग नेपाली सेनाको लागि आवश्यक पर्ने उपकरणहरु उपलब्ध गराउने गरी सम्झौता भई कार्य भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here