यसरी हुनेछ एसईईको मूल्यांकन, विद्यालयले नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने

काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

नयाँ कार्यविधि सोमवार सार्वजनिक गरिँदै छ । एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोके अनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो । आन्तरिक मूल्यांकन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here