काठमाडौं ११ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै ५ गुणा बढी आवेदन परेको छ ।
लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार साँझ ५ बजेसम्म ६ लाख ६ हजार ६४४ आवेदकबाट कुल ९४ लाख ७१ हजार २४० कित्ता खरिदका लागि आवेदन परेको छ।
यस हिसाबले यो आइपीओमा आजै मागभन्दा ५.१२ प्रतिशत बढी कित्ताका लागि आवेदन परेको हो। लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।
निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लघुवित्तको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।
लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।
हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।