मोटोपनले सताएको छ ? साँझमा व्यायाम गर्नुहोस्

काठमाडौं । मोटोपनको समस्याबाट पीडित भएका मानिसका लागी साँझको समयमा व्यायाम गर्नु फाइदाजनक हुने तथ्य सार्वजनिक भएको छ ।

अस्ट्रेलियाली क्याथोलिक विश्वविद्यालयका अन्वेषकका अनुसार साँझको समयमा व्यायाम गर्नाले कोलेस्ट्रोल र रगतमा चिनीको स्तर कम गर्न नियन्त्रणमा राख्न सकिन्छ । अनुसन्धानको क्रममा पत्ता लगाइयो कि अत्यधिक तौल र बढी बोसोयुक्त आहारको सेवन गर्ने मानिसमा टाइप २ मधुमेह हुने जोखिम बढी हुन्छ ।

यस्ता व्यक्तिले साँझको समयमा व्यायाम गरे उनीहरूको मेटाबोलिक स्वास्थ्यमा सुधार हुने अध्ययनले देखाएको छ । डायबेटोलोजी पत्रिकामा प्रकाशित अनुसन्धानका लागि ११ दिनसम्म उच्च फ्याटयुक्त आहारको सेवन गर्ने २४ जना मानिसको सहभागिता रहेको थियो । अनुसन्धानमा संलग्न व्यक्तिको उमेर ३० देखि ४५ वर्षबीच थियो ।

उनीहरूको बडी मास इन्डेक्स २७ देखि ३५ बीचको थियो । अध्ययनका लागि उनीहरूको स्वास्थ्य, कोलेस्ट्रोल र रगतमा चिनीको स्तर जाँच गरिएसँगै खाने बानीबारे पनि प्रश्न सोधिएको थियो । यी मानिसहरूलाई बिहान ६ बजेर ३० मिनेटमा व्यायाम गर्ने साँझको ६ बजेर ३० मिनेटमा व्यायाम गर्ने र कुनै पनि समयमा व्यायाम नगर्ने गरी तीन समूहमा विभाजन गरिएको थियो ।

अनुसन्धानको पाँचौ दिनमा साँझमा व्यायाम गर्ने मानिसले ग्लुकोज, इन्सुलिन, कोलेस्ट्रोल, ट्राइग्लिसराइडको स्तर घटेको पाइयो । अन्वेषक डा। मोहल्डका अनुसार अनुसन्धानको क्रममा बिहान वा बेलुकाको समयमा व्यायाम गर्ने मानिसमा देखिएका फाइदाहरू उस्तै रहेको पाइएको छ । तर रातको समयमा रगतमा चिनीको स्तर नियन्त्रण गर्ने विषयमा भने साँझको समयमा व्यायाम गर्नु धेरै फाइदाजनक हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here