काठमाडौं, १३ असार । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।
विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्तर्गत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको छ ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
बैंकले हाल देशभरका ७६ जिल्लाका २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २४ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।