जीवन विकास लघुवित्तको आइपीओ आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं १३ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा तेस्रोदिनसम्ममा १२ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ५:३० बजेसम्म १५ लाख २८ हजार ४४१ जना आवेदकले २ करोड ३२ लाख ९२ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा १२.६० गुणा धेरै हो ।

जसमा २ अर्ब ३२ करोड ९२ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लघुवित्तको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here