जीवन बीमालेखको संख्या ८४ लाख नाघ्यो, ७४ प्रतिशत जनसंख्या दायराबाहिर

काठमाडौं, १४ असार । नेपालमा जीवन बीमालेखको संख्या ८४ लाख नाघेको छ ।

बीमा समितिको तथ्यांक अनुसार आवको जेठ महिनासम्ममा जीवन बीमालेखको संख्या ८४ लाख ६८ हजार १३५ पुगेको हो ।

यो संख्या अघिल्लो तुलनामा घटेको छ । २०७७ को जेठ मसान्तसम्ममा ८५ लाख ३४ हजार ३१८ रहेको समितिले तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आवको तुलनामा ०.७८ प्रतिशतले घटेको समितिले जनाएको छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

जीवन बीमा लेखको संख्या बढेको भएपनि कोरोना महामारीको कारण वैदेशिक रोजगार रोकिएकाले वैदेशिक रोजगार बीमालेखको संख्या भने घटेको छ ।

एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या ९ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्मा ७७ लाख ८० हजार ४७ बीमालेख जारी भएको छ ।

समितिको तथ्यांकअनसार अझै पनि ७४ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।

विगतका वर्षमा भन्दा गत आर्थिक वर्ष (आव) मा बीमाक्षेत्रमा सुधार आएको बीमा समितिले बताएको छ ।

शाखा विस्तार ५ प्रतिशतले बढ्यो

बीमा कम्पनीहरूको शाखा संख्या ५.९२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको जेठ मसान्तसम्मा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या २ हजार ९ सय १५ वटा पुगेका छ ।

गत आवको बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ७ सय ५२ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।

त्यस्तै, यो जेठ मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या १० हजार ७ सय ६३ पुगेको छ । अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि हो ।

नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।

स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।

सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।

ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here