उपत्यकामा सार्वजनिक गाडी र पसल खुले पनि यी क्षेत्रमा कडाइ (सूचीसहित)

फाइलफोटो

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।

हाललाई २५ सीटभन्दा कम क्षमताका माइक्रोबस, ट्याम्पु लगायत सार्वजनिक सवारीसाधन भने चलाउन रोक लगाइएको छ । चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था मिलाउने, दैनिक सवारी साधन निसंक्रमण गर्नुपर्ने भएको छ ।

उपत्यकामा गतसातादेखि नै ट्याक्सी तथा निजी गाडी भने जोरबिजोर प्रणालीमा संचालन भइसकेका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता, फेन्सी पसललगायतका पसलहरु भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

यस्तै सभा सम्मेलन तथा नित्य पूजा गर्न बन्देज लगाइएको छ । सैलुन, व्यूटी पार्लर, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु पनि खोल्न दिइएको छैन् । ट्युसन सेन्टर, तालिम केन्द्र, कलेज विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको हो ।

त्यस्तै खुला स्थानमा मानिसहरु बेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस यात्रा, महोत्सव, भोज, भतेर आदी गर्न गराउन नपाइने उल्लेख छ । साथै विवाह, ब्रतबन्ध, तथा सामुहिक रुपमा गरिने सास्कृतिक कार्यहरु होटेल तथा पार्टी प्यालसमा गर्न नपाइने उल्लेख छ ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

त्यस्तै, अत्यवश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फाष्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ।

सवारीसाधनका वर्कशप साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। तर‚ पार्टी प्यालेस, ठूला होटल, शैक्षिक संस्थाहरुमा भने रोक लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here