नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर, ८.९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १९ असार । नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित २६ औं वार्षिक साधारणभा सभाले आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित बोनस सेयर र लाभांश स्वीकृत गरेको हो ।

कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सो सभा भर्चुअलरुपमा सम्पन्न भएको थियो ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा रु. ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफामध्ये बाँडफाँड योग्य रु. ५५ करोड ३६ लाख ७२ हजार रहेको छ ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिसकेको उसले बताएको छ ।

त्यस्तै देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले रु.१ खर्व ७२ अर्व रकम संकलन र रु.१ खर्व ७१अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।
नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here