नारायणगढ-मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिरो, ४ सवारी पुरिए

काठमाडौं, १९ असार । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ ।

अविरल वर्षाको कारण बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् ।

मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल जानकारी दिए ।

त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ ।

चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका-२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ ।

पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here