मनसुन सक्रिय भएयता बाढी-पहिरोले लियो ३८ जनाको ज्यान, ७९० घर डुबानमा

काठमाडौं, १९ असार । मनसुन सक्रिय भएयता बाढी, पहिरो परेर ३८ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ३८ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्। यस समयमा सिन्धुपाल्चोक जिल्लामा बढी ५ जना मानिसको ज्यान गएको छ।

देशभर २४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। जसमा सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उक्त तथ्यांक जेठ ३० गतेदेखि असार १९ गते दिउँसोसम्मको हो । त्यस्तै ५१ जना घाइते भएका छन्। घाइते मध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन्।

बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन्। ५ सय १९ वटा घर, ९० वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

१ हजार ५७ वटा घरका ५ हजार १ सय १ जना मानिस विस्थापित भएका छन् भने ८ सय १८ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा ४ सय वटा विपद्‍का घटना भएका छन्।

बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here