कहिले हुन्छ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड ?

काठमाडौं २१ असार । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड यसै साता हुने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवारसम्म आइपीओ बाँडफाँड हुने गरि काम अघि बढाएको जनाएको छ ।

आवेदकहरुको डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा रहेकाले मंगलवारभित्रमा प्रि-अलोटमेण्ट सम्पन्न गर्ने तयारी बिक्री प्रबन्धकको छ ।

यो आइपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर बिक्री गरेको हो ।

यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here