जीवन विकास लघुवित्तको आइपीओ बुधबार बिहान बाँडफाँड हुने, ५ जनालाई ११ कित्ता

काठमाडौं, २२ असार । जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपीओ) बुधबार बाँडफाँड हुने भएको छ।

बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपीओ बाँडफाँड गर्न लागेको हो ।

यो आइपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर बिक्री गरेको हो ।

कम्पनीको आइपीओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। त्यसपछि ५ कित्ता बाँकी रहन्छ। न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन।

त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँड गरिने छ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here