जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाडौं, २३ असार । जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपीओ) बुधबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

यो आइपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको थियो । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर बिक्री गरेको थियो ।

कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ जम्मा १ लाख ८४ हजार ८ सय १ जनालाई पहिले १० कित्ताका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। त्यसपछि ५ कित्ता बाँकी रहन्छ। न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान छ, तसर्थ यो ५ कित्ता छुट्टै दिन मिल्दैन।

त्यसैले १० कित्ता पाएकाहरुबाटै २० वा सोभन्दा धेरै कित्ताका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गरी ५ जनालाई थप १–१ कित्ता अर्थात ११ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here