इङल्याण्ड युरोकपको फाइनलमा, उपाधि भिडन्त इटालीसँग

काठमाडौं, २४ असार । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाको सेमिफाइनल खेलमा डेनमार्कलाई २- १ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो ।

सन १९६६ को विश्वकपको उपाधि जितेको इङल्याण्ड त्यस यताको पहिलो ठुलो प्रतियोगिताको फाइनल खेल्ने भएको छ ।

इङल्यान्डको जितमा अतिरिक्त समयको १०४ औ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । इङल्याण्डले पाएको पेनाल्टी हान्दै केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । केनको यस युरोकपमा यो चौथो गोल हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १- १ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । खेलको पहिलो हाफमा खेलको ३०औ मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट सुन्दर गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ३९ औ मिनेटमा इङल्याण्डका बुकायो साकाले हानेको क्रस बललाई डेनमार्कका सिमन कजीरले आफ्नै पोष्टमा हानेपछि आत्मघाती गोल भएको थियो ।

सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो । अब युरोकपको फाइनल खेल इटाली र इङल्याण्डबीच आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजे हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here