कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, २८ वर्षपछि उपाधिको खडेरी तोडियो

काठमाडौं, २७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो । खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।​

यो जितपछि अर्जेंटिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेकाे छ। उसले धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेसँग बराबरी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here