जोन ग्याम्पर कपमा बार्सिलोना र युभेन्टस भिड्ने

काठमाडौं, १ असार । जोन ग्याम्पर कपमा प्रतिस्पर्धा गर्न स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई प्रस्ताव राखेको छ ।

स्पेनिस मिडिया ‘आरएसी वान’का अनुसार यस समरको ट्रफी जोन ग्याम्पर खेल्न बार्सिलोनाले युभेन्टसलाई प्रस्ताव गरेको हो ।

सन् २०२१ को ग्याम्पर कपमा बार्सिलोनाले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी वा युभेन्टससँग खेल्नुपर्नेछ । त्यसमध्ये साविक विजेतासमेत रहेको बार्सिलोनाले युभेन्टससँग खेल्ने इच्छा जताउँदै उसलाई प्रस्ताव राखेको खबरमा जनाइएको छ ।

यसअघि बार्सिलोना सिटीसँग खेल्न सहमत रहेको बताइँदै आएपनि अहिले भने बार्साले युभेन्टससँग खेल्ने मनसाय बनाएको बताइएको छ । बार्सिलोना र युभेन्टसबीच यस विषयमा छलफल जारी रहेको बताइएको छ ।

खबरका अनुसार यो खेल ८ अगस्टमा हुने जनाइएको छ । अब, युभेन्टस सहमत भएमा विश्वका दुई उत्कृष्ट फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ ।

बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा रोनाल्डोबिनाको युभेन्टस बार्सिलोनासँग पराजित भएको थियो । बार्सिलोनाले युभेन्टसलाई २–० गोलले हराउँदा मेस्सीले एक गोल गरेका थिए ।

रोनाल्डो मैदान फर्किएपछि दोस्रो खेलमा युभेन्टले ३–० गोलको सहज जित निकालेको थियो, जसमा रोनाल्डोले दुई गोल गरेका थिए ।

बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । उसले ४३ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here