अगस्टको पहिलो साता बार्सिलोनाले मेस्सीसँगको सम्झौता थप्ने

काठमाडौं, १२ साउन । स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग अगस्टको पहिलो साता सम्झौता नवीकरण गर्ने भएको छ ।

स्पेनिस मिडियामा प्रकाशित समाचारका अनुसार २ अगस्टमा बार्सिलोनाले सर्वाधिक ६ पटकका बालोन डी‘ओर विजेता मेस्सीसँग सम्झौता थप्ने योजना बनाएको छ ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अगस्टको पहिलो साता मेस्सीसँग सम्झौता थंप्ने योंजनामा रहेको स्पेनिस मिडिया अनलाइन स्पोर्ट्सले जनाएको छ । खबरका अनुसार मेस्सीसँग पाँच वर्षे सम्झौता थप्ने बार्सिलोनाको योजना छ ।

सन् २००४ यता बार्सिलोनाबाट खेल्दै आएका मेस्सीको सम्झौता ३० जुनबाट सकिएको थियो । त्यसबीचमा अर्जेन्टिनाबाट कोपा अमेरिका खेलिरहेका मेस्सीले बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न पाएका थिएनन् ।

कोपा अमेरिकाको उपाधि जितेसँगै नेसनल ड्युटीबाट फ्री भएका मेस्सी बार्सिलोनामै अरू पाँच वर्ष बस्न सहमत भएको जनाइएको छ । यस्तै, ३४ वर्षीय मेस्सी ५० प्रतिशत तलब कटौती गर्ने विषयमा पनि सहमत भएको खबरमा उल्लेख गरिएको छ ।

खबरका अनुसार अब मेस्सीले बार्सिलोनासँग सन् २०२६ सम्मको सम्झौता गर्नेछन् । सन् २०२६ मा मेस्सी ३९ वर्ष पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here