टोकियो ओलम्पिक: गौरिकाको औसत प्रदर्शन, अर्को चरणमा पुग्ने सम्भावना समाप्त

फाइलफोटो

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले औसत प्रदर्शन गरेकी छिन् ।

१ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

उनले राष्ट्रिय कीर्तिमान भने बनाएकी छन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here