काठमाडौं, १८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन उकालो लाग्न थालेको छ । देशभर क्षेत्रगत रुपमा लागु भएको निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमित थपिने क्रम बढेको हो ।
त्यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकाका अस्पतालहरुमा देखिन थालेको छ । बिस्तारै संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीको चाप बढ्दै गइरहेको छ । कोरोना संक्रमित बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी भरिभराउ हुन थालेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटरमा भरिभराउ छ। संक्रमितको चाप बढेसंगै अस्पतालको पार्किंङ क्षेत्रमा अस्थाई बेड बनाई सेवा दिने तयारी गरिएको कुरा टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।
‘पछिल्ला केही दिनयता काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, त्यस अनुसार टेकु अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढ्न थालेको छ ।’ डा. पुनले क्लाउड पत्रिकासँग भने, ‘यसमा हिजो संक्रमितको चाप बढेपछि हामीले पार्किङ्गमा अस्थाई बेड राखेर सेवा दियौं, आज फेरि यो संख्या घटेको छ ।
‘आज बाहिर राख्नु परेको छैन् । त्यसकारण पछिल्लो केही दिनमा संक्रमण दर बढेको कारण प्रयाप्त बेड छैन् बाहिर राखेर पनि सेवा दिनुपर्ने अवस्था हुनसक्छ भनेर तयारी गरेका हौं ।’ टेकु अस्पतालमा मात्रै नभएर उपत्यकाका अन्य अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढेको कुरा सरुवा रोग विशेषज्ञ डा.पुन बताउँछन् ।
‘एक दिन बढेको संक्रमण दरलाई हेरेर संक्रमण दर बढ्यो अब प्रलय हुन्छ भन्न हतार हुन्छ कि । तर, टेकु अस्पतालमा मात्रै होईन अन्य निजी अस्पतालमा पनि कोरोना संक्रमितको चाप बढेको कुरा साथिहरु बताउँछन् । यसले संक्रमणको दर बढ्दै छ है केही ध्यान दिनुपर्ने समय आएको छ भन्ने कुराको संकेत गर्छ ।’ डा. पुनले भने ।
टेकु अस्पताल प्रांगणको टहरामा तत्कालका लागि १० बेड थपिएको छ । तर यो बेड संख्या पनि अपुग हुने चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजसम्ममा तेस्रो लहर आउने अनुमान गर्दै स्वास्थ्य प्रणाली तयारी अवस्थामा राखेको बताएको छ । तर मन्त्रालयले आकलन गरेको भन्दा अघि नै ठूलो क्षति हुन सक्ने विज्ञहरु बताउँछन् ।
पछिल्ला केही दिनयता दैनिक तीन हजारको हाराहरीमा कोरोना संक्रमण देखिदै आएको छ । जसमा झण्डै ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यका भित्रका छन् ।
स्वास्थ्य मन्त्रायलको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर संक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० नाघेको छ । भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।
























