मनाङ र मुस्ताङ बने कोभिड विरुद्धको ‘पूर्ण खोपयुक्त’ जिल्ला

मनाङ, २० साउन । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ पूर्ण कोरोना भाइरसविरुद्ध पूर्ण खोपयुक्त जिल्ला बन्न सफल भएका छन् । यहाँ १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको हो । थोरै जनसंख्या भएका कारण यी दुई जिल्लामा पूर्ण खोप वितरण भएको हो । प्राकृतिक प्रकोप र कठिन भौगोलिक अवस्थितिका बावजुत स्वास्थ्यकर्मीले यो सफलता प्राप्त गरेका हुन् । बाढीपहिरोले बाटो बगाएपछि नार्पाभूमिमा पोखराबाट हेलिकप्टरबाट खोप लगिएको थियो ।

मनाङमा १८ वर्षमाथिका ४ हजार १ सय ९८ जनाले खोप लगाए । भर्खरै कोभिड लागेका र गर्भवती महिलालाई अहिले खोप दिइएको छैन । जिल्लाबाहिर रहेका मानिसले समेत लगाएका छैनन् । तर, मनाङ जिल्ला भित्र खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले खोप लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मनाङमा २ हजार ९६ जनाले कोभिसिल्ड लगाएका छन् । जहाँ १ सय ६५ जनाले दोस्रो खोप लगाउन बाँकी छ ।

७५ जनाले भेरोसेल दोस्रोपटक समेत लगाइसकेका छन् । २ हजार २७ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाए । यहाँ माघ १४ मा जिल्ला अस्पतालबाट खोप सेवा अभियान सुरु भएको हो । मनाङमा बढी भएको कोभिसिल्डको ६ सय ८० डोज हेलिकप्टरमार्फत लमजुङ पठाइएको छ । उता अर्को हिमाली जिल्ला मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकले खोप पाएका छन् । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय जनाले समेत खोप पाएका छन् । यसरी मुस्ताङमा कुल ९ हजार ५०० जनालाई खोप दिइयो । जिल्लामा जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७००, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here