पारससंगै जर्सी नम्बर ७७ पनि रिटायर्ड

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याउने भएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसको सम्मानमा क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने जनाएको हो ।

पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको बैठकले पारसको नेपाली क्रिकेटमा योगदानलाई लिएर कदरस्वरूप उक्त निर्णय गरिएको बताए ।

नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्राप्त गरेको सफलताको दिनमै खड्काले अन्तर्राष्ट्रिय करिअरबाट बिदा लिने निर्णय लिएका थिए । डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका पारसको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पाएको थियो ।

क्यानका सचिव प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका अन्य खेलाडीको बिदाइसमेत नभएकोले छलफल भएपनि बिदाइबारे पछि निर्णय हुने बताए । पारसको जन्म बिक्रम सम्वत् २०४४ कात्तिक ७ गते भएको हो । सात महिना सात गते जन्म भएकोले पनि पारसले भाग्यशाली नम्बरको रूपमा आफ्नो जर्सी नम्बर प्रयोगमा ल्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here