भारतका गोल्ड मेडल बिजेता नीरजलाई पुरस्कारको वर्षा, रकममात्रै १० करोडभन्दा धेरै

काठमाडौं । टोकियो ओलम्पिकमा भारतको लागि एकमात्र स्वर्ण पदक बिजेता नीरज चोपडालाई पुरस्कारको वर्षा भएको छ ।

जेभलिन थ्रो (भाला फ्याँक्ने) प्रतियोगितामा स्वर्ण पदक जितेर चोपडाले इतिहास बनाए । उनले स्वर्ण जितेपछि भारतमा खुसियाली छाएको छ।

योसंगै चोपडालाई प्रोत्साहन स्वरुप पुरस्कार बितरणमा पनि निकै वृद्धि भएको छ । केही दिनमै १० करोडभन्दा धेरै रकमको पुरस्कार चोपडाले पाईसकेको छन् ।

यस्ता छन् घोषणा भएका पुरस्कार

हरियाणा सरकारले नीरजलाई भारतीय रुपैयाँ ६ करोड दिने घोषणा गरेको छ । यतिमात्र होइन उनलाई प्रथम तहको रोजगारी पनि दिने भएको छ ।

यसैगरी ५० प्रतिशत छुटसहित उनलाई एउटा फ्ल्याट पनि दिइने भएको छ ।

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले यस्तो घोषणा गरेका हुन् । उनले एथलेटिक्सका लागि भवनलगायतको संरचना बनाउने र नीरजले चाहे त्यस निकायको प्रमुख बनाइने पनि बताएका छन् ।

यस्तै अमरिन्दर सिंहले नीरजलाई दुई करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसैगरी महिन्द्रा समूहका अध्यक्ष आनन्द महिन्द्राले देशका लागि स्वर्ण पदक जितेकामा खुसी हुँदै नीरलाई आगामी उत्पादन एक्सयुवी७०० गाडी उपहारमा दिने बताएका छन्।

भारतका लागि स्वर्ण पदक जित्ने पहिलो ट्रयाक एण्ड फिल्ड एथलेट नीरजलाई सहयोग गर्नेको ठूलो संख्या देखिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले उनलाई एक करोड भारतीय रुपैयाँ दिने भएको छ।

यस्तै निजी विमान कम्पनी इण्डिगोले नीरजका लागि एक वर्षसम्म असीमित निःशुल्क यात्राको सुविधा दिने घोषणा गरेको छ ।

गुरुग्रामस्थित रियल्टी कम्पनी इलान ग्रुपका अध्यक्ष राकेश कपुरले उनलाई २५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

इण्डियन प्रिमियर लिग फ्रेन्चाइज चेन्नइ सुपर किंग्सले पनि नीरजलाई एक करोड रुपैयाँ दिने घोषणा गरेको छ ।

नीरजले गत शनिबार ८७.५८ मिटर परसम्म भाला फ्याँकेर प्रथम हुँदै टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here