राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका अयोजनाहरुको कार्यान्वयनमा अनुमगमनलाई तीब्र बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको आयोजना सहजीकरण समन्वय समितिलाई प्रभावकारीरुपमा परिचालन गर्न पनि उनको निर्देशन छ ।

‘राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समयभित्र र तोकिएको गुणस्तर कायम गरी सम्पन्न गर्नका लागि सबै मन्त्रालय तथा निकायहरुले जिम्मेवारीपूर्वक र समन्वयात्मक रुपमा काम गर्न जरुरी छ,’ राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा बोल्दै प्रम ओलीले भने ।

आयोजना सुशासनको क्षेत्रमा अझै पनि अपेक्षित सुधार हुन नसकेकाले आयोजना पहिचान, स्वीकृति, कार्यान्वयन, अनुगमान र मूल्यांकनका क्षेत्रमा नतिजा, समय र उत्तरदायित्वमा विशेष ध्यान दिन र बजेट जेठ १५ गते प्रस्तुत भए पनि सरकारी ठेक्का माथिको चाप वर्षान्तमा पर्ने असंगतियुक्त अवस्था हटाउन पनि उनले निर्देशन दिएका छन् ।

‘विकास आयोजनाहरुको पूर्व तयारी र कार्यान्वयनयोग्य बनाएपछि मात्र आयोजना सञ्चालनमा ल्याउनुस् । अन्तरनिकाय समन्वय सुदृढ, प्रभावकारी र छिटोछरितो बनाइ योजना कार्यान्वयनमा थप प्रभावकारिता ल्याउनुस्,’ ओलीले भने ।

पहिलो प्राथमिकताका ८० प्रतिशतभन्दा कम प्रगति भएका कार्यक्रम र आयोजनाको तीब्र कार्यान्वयनका लागि विषय क्षेत्रगत मन्त्रालयका मन्त्री र सचिवले लक्ष्य प्राप्तिमा जोड दिन पनि उले सुझाएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर रहेको केन्द्रीय सरकारका मन्त्री तथा प्रदेशका मुख्यमन्त्रीहरुले बताएका थिए । सरकारले प्राथमिकतामा राखेका ठूला विकास आयोजनाको कार्यान्वयनको स्तर ज्यादै कमजोर रहेको धारणा राख्दै ठूला आयोजनाको शीघ्र कार्यान्वयनका लागि नयाँ मोडालिटी खोज्न समेत उनीहरुले सुझाव दिएका थिए ।

त्यसैगरी, विभिन्न मन्त्रालय तथा निकायअन्तर्गत रहेका रुग्ण ठेक्का आयोजनाहरुको कार्यान्वयनस्तर सन्तोषजनक नरहेकोले त्यस्ता आयोजना कानून बमोजिम फरफारक सहित शीघ्र सम्पन्न गर्न पनि प्रम ओलीले निर्देशन दिएका छन् । तोकिएको समयमा सम्पन्न हुन नसक्ने आयोजना खारेज गरी निर्माणको जिम्मेवारी लिएकालाई कानूनी दायरामा ल्याउन पनि उनको निर्देशन छ ।

स्थानीय तहको विकास कार्यक्रम र योजना समेत प्रदेशका मुख्यमन्त्रीहरुले अनुगमन र सहजीकरण गर्न प्रमले निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी सम्पूर्ण तयारी यस आर्थिक वर्षभित्रै सम्पन्न गर्न उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here