कोरोनाविरुद्धको खोप किन्न एडीबीले १९ अर्ब ५८ करोड सहुलियत ऋण दिने

काठमाडौं, २७ साउन । कोभिड–१९ विरुद्धको खोप खरीदका लागि नेपाल सरकार र एशियाली विकास बैक (एडीबी) बीच १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता भएको छ।

बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैकका नेपालस्थित निर्देशक आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरीद गरी राष्ट्रिय खोप योजनालाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैकको सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

एडीबीका नेपालस्थित निर्देशक कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे।

उनले महामारीबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई ब्यांकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए। उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए।

यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here