अमेरिकामा बढ्न थाले कोरोना संक्रमित बालबालिका, दुई हजारभन्दा धेरै अस्पताल भर्ना

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको छ।

डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएको र १२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको बताईएको छ ।

अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन् ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्समा छापिएको समाचार अनुसार अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुने कुल संख्याको २.४ प्रतिशत बालबालिका रहेका छन् ।

‘यो पोहोर सालको जस्तो कोरोना होइन। यो निकै डरलाग्दो छ र हाम्रा बच्चाहरू यसबाट धेरै प्रभावित हुँदैछन्,’ अमेरिकन एकेडेमी अफ पेडियाट्रिककी पूर्वअध्यक्ष स्याली गोजाले भनेकी छन् ।

यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो ।

बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ । अमेरिकामा संक्रमण फेरि फैलिनुमा मानिसहरूले खोप लगाउन नमान्नु प्रमुख कारण हो ।

अहिलेसम्म अमेरिका ५० प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप लगाएका छन् भने ५९ प्रतिशतले एक डोज खोप लगाएका छन् । अमेरिकामा खोप सर्वसुलभ भए पनि मानिसहरू खोप लगाउन मान्दैनन् ।

अमेरिकामा अहिलेसम्म ३ करोड ७४ लाख ३५ हजार जनामा कारोना संक्रमण पुष्टि भएको छ । जसमा ३ करोड १ लाख ४४ हजार संक्रमणमुक्त भएका छन् भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ लाख ३७ हजार ४३९ जनाको मुत्यु भएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here