अगुएरोले अस्वीकार गरे बार्सिलोनामा १० नम्बर जर्सी लगाउने प्रस्ताव, कौटिन्होले लगाउलान ?

काठमाडौं, ३ भदौ । अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सीको १० नम्बरको जर्सी लगाउन अस्वीकार गरेका छन् । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अगुएरोले अस्वीकार गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ ।

ला लिगाको म्याच डेमा हरेक टिमले खेलाडीका लागि १ देखि २५ नम्बरसम्मको जर्सी छुट्याउनुपर्नेछ । तर नयाँ सिजन सुरुआत भइसक्दा पनि कसले उक्त जर्सी लगाउला भन्ने विषय अन्योलमा छ । सिजनको पहिलो खेल खेल्दा पनि १० नम्बरको जर्सी खाली थियो । नयाँ सिजनमा उक्त जर्सी लगाउने खेलाडी बार्सिलोनाले भेट्टाएको छैन ।

हालै मेम्फिस डिपे, एरिक गार्सिया र रे मानाज ला लिगामा दर्ता भए । डिपेले नेदरल्यान्ड्सको टिममा १० नम्बरको जर्सी लगाउने भएपनि उनले बार्सिलोनामा ९ नम्बरको जर्सी रोजे । गार्सियाले पनि १२ नम्बर जर्सी लगाउँदा मानाजले जर्सी नम्बर १४ पाएका छन् । यसअघि कौटिन्होले १४ नम्बरको जर्सी लगाउँथे ।

अब, कौटिन्होले १० नम्बरको जर्सी लगाउने सम्भावना रहेको स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोले जनाएको छ । किनकि, बार्सिलोनाका पदाधिकारी र मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले कौटिन्होलाई एक वर्ष क्याप नोउमै राख्ने निधो गरिसकेका छन् । तथापि, यो जर्सी लगाउने वा नलगाउने भन्ने निर्णय उनकै रहने भएका कारण पक्का भइसकेको छैन ।

यता, पिकेले एक अन्तर्वार्तामा अगुएरोलाई १० नम्बरको जर्सी लगाउन प्रस्ताव राखेको जनाउँदै अगुएरोले भने आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाए । अगुएरोले १९ नम्बरको जर्सी लगाउने स्पष्ट पारिसकेका छन् ।

बार्सिलोनामा लामो समय उक्त जर्सी लगाएका खेलाडी मेस्सी हुन् । उनले १३ वर्ष १० नम्बरको जर्सी लगाएका थिए । तर उनी बार्सिलोनासँगको २१ वर्षे बसाइ अन्त्य गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०मा अनुबन्ध भएपछि उनले लगाउँदै आएको जर्सी खाली अवस्थामा छ । मार्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here