नेपालमा भित्रिन्छ अर्बौंको विदेशी ब्राण्डेड रक्सी, ७०० मिलिलिटरकै ६ लाख !

जितेन्द्र खनाल

काठमाडौं, ७ भदौ । गरिब होस् वा धनी । दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली नेपाली बजारमा मदिराको उपभोग बढ्दो छ । चाडबाड र नयाँ वर्ष त झन् मदिराको बढी प्रयोग हुने मौसम हो ।

उपभोग बढेसँगै नेपाली बजारमा ब्राण्डेड रक्सीको माग तथा ब्राण्डेड रक्सी खाने मानिसहरुको संख्या पनि बढ्न थालेको छ ।

संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा लिने प्रवृत्ति बढेसंगै नेपाली बजारमा एक बोटलकै ६ लाखभन्दा धेरै पर्ने विदेशी रक्सी बिक्री हुने गरेका छन् ।

विदेशी मदिरा बेच्ने नेपालकै ठूलो डिलर मध्येको एक ग्रीनलाइन लिक्वायर्स दरबारमार्गमा ७०० एमएलकै ६ लाख भन्दा धेरै मूल्य पर्ने रक्सी बिक्री हुँदै आएका छन् ।

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७०० मिलिलिटरको एक बोतलकै ६ लाख ७ हजार २०५ रुपैयाँ पर्छ ।

अंगुरको बोक्राबाट ५० वर्ष लगाएर बनाइएको यो रक्सी एक लटमा ३/४ सय बोतलमात्रै उत्पादन गरिने भएको कारण यो महङ्गो भएको हो ।

मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो त्यति नै राम्रो मानिन्छ । र, उतिनै महंगो पर्छ । त्यसैले मदिरा प्रेमीहरु पुराना ब्राण्डेल ह्विस्की तथा वाइनहरु जति महंगो भएपनि पिउन छाड्दैनन् ।

ग्रीनलाइनमा उपलब्ध अर्को महङ्गो विदेशी रक्सी फ्रान्सेली रेमी मार्टिन ‘लुई-१३औं’ हो ।

यो मदिराको ७०० मिलिलिटरको एक बोतलकै साढे ४ लाख ९७ हजार रुपैयाँ रुपैयाँ पर्छ । फ्रान्सेली राजा लुई १३ औंको नामबाट ब्राण्डिङ गरिएको यो मदिरा पनि विश्वभरका धनाड्यहरुबीच उस्तै लोकप्रिय छ ।

एक वर्षमै भित्रियो साढे २ अर्बको विदेशी रक्सी

नेपालमा गत आर्थिक वर्षमा मात्रै साढे २ अर्ब रुपैयाँभन्दा धेरैको विदेशी रक्सी आयात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख ८० हजार ७९४ लिटर विदेशी रक्सी आयात भएको छ ।

केन्द्रको तथ्यांक अनुसार यस विचमा ह्विस्की मात्रै १ अर्ब २ करोड रुपैयाँको आयात भएको छ ।

आ।व। २०६७/७७ को तुलनामा भने विदेशी रक्सीको आयातमा कमी देखिएको छ । केन्द्रको तथ्यांक अनुसार आ.व. २०६७/७७ मा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको विदेशी रक्सी आयात भएको थियो ।

त्यस्तै, आ.व. २०७५/७६ मा ३ अर्ब ५५ करोड, आ.व.७४/७५ मा २ अर्ब ५० करोड रुपैयाँ बराबरको विदेशी रक्सी आयात भएको विभागको तथ्यांकले देखाउछ ।

कहाँबाट आउँछ मदिरा ?

नेपालमा मेक्सिकोबाट धेरै रक्सी आयात हुने गरेको छ । यसबाहेक फ्रान्स, बेलायत, स्पेन, अमेरिका, भारत, जापान, जर्मनी, इटाली, नेदरल्याण्ड्स, रुस, पोल्याण्डलगायत ५० भन्दा धेरै देशबाट नेपालमा विभिन्न ब्राण्डका रक्सी आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here