विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल अमेरिकासँग

काठमाडौं, १० भदौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ (सेप्टेम्बर १३) मा संयुक्त राज्य अमेरिकासँग खेल्ने छ।

यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग आउँदो २९ गते खेल्ने छ । नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते खेल्ने छ भने अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।

प्रतियोगिताका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् । श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्।

सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here