कोभिड निको भएको एक वर्षसम्म पनि देखिन्छ लक्षण

काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएको एक वर्षपछि पनि बिरामीहरूमा केही लक्षण देखापरिरहेको छ ।

चीनको नेशनल सेन्टर फर रेस्पिरेटरी मेडिसिनका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार निको भएका ५० प्रतिशत बिरामीमा एक वर्षपछि पनि सास फेर्न गाह्रो हुने, थकानजस्तै कुनै एक लक्षण देखाइरहेका छन् । विशेषगरी अस्पतालमा भर्ना भएपछि निको हुने बिरामीहरूमा लक्षण देखिन सक्छन् ।

ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धानका लागि अस्पतालमा भर्ना भएका वुहानमा एक हजार सत सय ३३ कोरोना बिरामीहरूमा एक वर्षपछि के लक्षण देखिएको वा कस्तो अनुभव गरिरहेका छन् भनेर अध्ययन गरिएको थियो । यी बिरामीहरू सङ्क्रमणपछि निको हुनको लागि ६ महिनासम्म अस्पतालमा भर्ना भएका थिए । यीमध्ये एक हजार दुई सय ७६ बिरामीहरूलाई अर्को एक वर्षसम्म स्वास्थ्य जाँच गरिएको थियो ।

सङ्क्रमणबाट भएका हरेक सानो कुराको अर्को एक वर्षसम्मको लागि रेकर्ड गरिएको थियो । जसबाट तीमध्ये एक तिहाई बिरामीलाई १२ महिनासम्म सास फेर्न गाह्रो भएको पत्ता लाग्यो । सङ्क्रमणको ६ महिना र एक वर्ष पछि गरिएको सिटी स्क्यानको रिपोर्टबाट केही बिरामीहरू एक वर्षसम्म पनि पूर्ण रूपमा निको नभएका र केही गम्भीर बिरामी भएको पत्ता लाग्यो ।

अनुसन्धानका अनुसार एक वर्षभित्र, बिरामीहरूमा अधिकांश लक्षणहरू देखिन बन्द भएका थिए । तर सङ्क्रमणपछि अस्पताल भर्ना भएका बिरामीहरू कहिल्यै सङ्क्रमित नभएको मानिसको तुलनामा कम स्वस्थ थिए । अनुसन्धानकर्ता बिन काओका अनुसार केही बिरामीहरूलाई पूर्ण रूपमा निको हुन एक वर्ष सम्म लाग्न सक्छ ।

उपचारको क्रममा स्टेरोइड दिइएका कोरोनाका बिरामीमा थकान र मांसपेशीमा कमजोरी हुने समस्या एक दशमलव पाँच गुणा बढी देखिएको थियो । थकान र मांसपेशी कमजोर हुने समस्या पुरुषको तुलनामा महिलामा एक दशमलव चार गुणा बढी रिपोर्ट गरिएको थियो । सङ्क्रमणको १२ महिनापछि, फोक्सोमा समस्या हुने जोखिम उच्च हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here