एम्बाप्पे पिएसजीमै बस्ने निश्चित

काठमाडौं । समर ट्रान्सफर विन्डोको अन्तिम दिन रियल मड्रिडले फ्रान्सेली स्टार किलियन एम्बाप्पेमाथि ‘बम्पर अफर’ गरेको थियो । तर उक्त प्रस्ताव पनि नकारेपछि एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने पक्का भएको छ ।

२०१८–१९ को सिजनदेखि पिएसजीका नियमित खेलाडी बन्दै आएका एम्बाप्पे अघिल्लो सिजनबाट नै स्पेनिस क्लब रियल मड्रिडसँग नजिकिएका थिए । सन् २०२२ सम्म पिएसजीमा रहने सम्झौता गरेका एम्बाप्पेले हालसम्म आफ्नो अनुबन्ध नवीकरण गरेका छैनन् । यसले पनि एम्बाप्पे रियल जाने मनसायमा रहेको जनाउँछ ।

यता, क्रिस्टियानो रोनाल्डोले रियल छोडेसँगै उनको स्थानमा एम्बाप्पेलाई ल्याउने तयारीसहित क्लब लागि परेको थियो । यस सिजन भने एम्बाप्पेलाई भित्र्याउन जोड गरेर लागिपरेको ऊ अन्ततः असफल बनेको छ ।

ट्रान्सफर विन्डो सकिने अन्तिम दिन मङ्गलबार रियलले एम्बाप्पेका लागि मोटो रकम प्रस्ताव गरेपनि पिएसजीले त्यस प्रस्तावलाई नकारेको छ । पहिलो प्रस्ताव अस्वीकृत भएपश्चात्त केही हच्किएको रियलले ट्रान्सफर विन्डो सकिन एकदिन अघि फेरि पनि एम्बाप्पेका लागि दुई सय मिलियनसहितको नयाँ प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव पनि पिएसजीले नकारेको हो ।

अघिल्लो साता पनि एक सय ६० मिलियन युरोको प्रस्ताव राखेको भएपनि पिएसजीले रियलको प्रस्तावमाथि सकारात्मक प्रतिक्रिया दिएन । पिएसजीले कुनै हालतमा एमबाप्पेलाई बिक्री नगर्ने बताएको थियो । तर एम्बाप्पेले आग्रह गरेपछि पिएसजीले रियलले आफ्नो शर्त मानेमात्र बिक्री गर्ने अडान राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here