१ करोडभन्दा बढी नेपालीले पाए कोरोना विरुद्धको खोप, पुर्ण मात्रा पाउने १५ प्रतिशत

काठमाडौं, १८ भदौ । नेपालमा एक करोडभन्दा बढी नेपालीले कोभिड विरुद्धको खोपको कम्तीमा पहिलो मात्रा पाएका छन् ।

स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कम्तीमा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

जसमा पुर्ण खोप पाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् भने पहिलो मात्रा लगाउने ५६ लाख २४ हजार ८३६ जान रहेका छन् ।

आफ्नै देशमा खोप उत्पादन नभएपनि विश्वमा कोरोना विरुद्धको खोप पाउने देशहरुको सूचीमा नेपाल अगाडी नै देखिएको कारण यो सकारात्मक रहेको कुरा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउछन् ।

‘विश्वमा कोरोना विरुद्धका खोप पाएका देशहरुको सूचीमा नेपाली अगाडी नै छ यसलाई हामीले सकारात्मक रुपमा हेर्नुपर्छ ।’ डा. पाण्डेले क्लाउड पत्रिकासंग भने, ‘तेस्रो लहर आएको खण्डमा खोप नपाएका मानिसहरु बढी संक्रमित हुने भएको कारण अन्य जनसंख्यालाई पनि छिटोभन्दा छिटो खोप उपलब्ध गराउन पर्ने देखिन्छ ।’

कति छन् खोप लक्षित जनसंख्या ?

मन्त्रालयको तथ्यांक अनुसार १८ वर्ष माथिका २ करोड १७ लाख ५६ हजार ७६३ जना खोप लक्षित जनसंख्या रहेका छन् ।

अहिलेसम्म नेपालले कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन गरी एक करोड ३७ लाख सात हजार ३० मात्रा खोप प्राप्त गरिसकेको मन्त्रालयको तथ्याङ्क छ ।

त्यसमध्ये एक करोडभन्दा बढी मात्रा प्रयोग भइसकेको अवस्थामा बाँकी खोप दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई र त्यसबाहेक ढुवानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ ।

नेपालको कुल जनसंख्याको १७.९ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाइसकेका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

अन्य खोप ल्याउने तयारी कस्तो छ ?

नेपालले कोभ्याक्स सुविधा अनुसार, आफैँ खरिद गरेर र अनुदानस्वरूप पाउने गरी करिब पाँच करोड खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये असोजभित्र चीनबाट खरिद गरिएको ६० लाख मात्रा र अनुदानमा १६ लाख मात्रा भेरोसेल एवम् भारतबाट खरिद गरिसकिएको १० लाख मात्रा कोभिशील्ड खोप आउने क्रममा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here