हल खुले पनि दशैंअघि नयाँ फिल्म लाग्ने सम्भावना कम

जितेन्द्र खनाल

काठमाडौं, १९ भदौ । गत बिहीबारदेखि काठमाडौं उपत्यकाका सिनेमा हल खोल्न दिने जिल्ला प्रशासन कार्यालयको निर्णयले सिने क्षेत्रमा उत्साह थपेको छ ।

कोरोना संक्रमण दर बढ्दै गएपछि करिव ४ महिनायता बन्द रहेका हलहरु खुल्ने निर्णय भए पनि सिनेमा हल भने खुलिसकेका छैनन् ।

लामो समयसम्म बन्द रहेको सिनेमा हलमा सरसफाइ र प्राविधिक विषयमा विशेष ध्यान दिनु परेको कारण सिनेमा हल सञ्चालन गर्नको लागि केही समय लागेको कुरा सिने क्षेत्रका सम्बन्धित व्यक्तिहरु बताउँछन् ।

कोरोनाको त्रास जारी नै रहेको कारण सिनेमा हल खेुलेपनि तत्काल नयाँ सिनेमा प्रर्दशन गर्न नसकिने चलचित्र निर्माता संघका अध्यक्ष तथा नायक आकाश अधिकारी बताउछन् ।

‘सिनेमा हल खुल्नु हाम्रो लागि त निकै ठूलो कुरा हो तर कम्तिमा १ हप्ता जति त सरसफाइ र प्राविधिक कुरामा ध्यान दिनको लागि नै लाग्छ’, अध्यक्ष आकाश अधिकारीले क्लाउड पत्रिकासंग भने, ‘त्यसपछि पनि बजारको अवस्था बुझ्नको लागि केही समय पुराना चलचित्र नै प्रर्दशन ल्याउने तयारी छ ।

कोरोना त्रास जारी नै रहेकोले यस्तो अवस्थामा कुनैपनि निर्माता आफ्नो लगानी डुबोस् बन्ने नचाहने उनले बताए । त्यसका साथै, ठूला लगानीका चलचित्रलाई प्रचारप्रसारको लागि पनि केही समय लाग्ने भएको कारण तत्काल नयाँ सिनेमा प्रर्दशनमा आउने सम्भावना छैन् ।’

सिनेमा हल काठमाडौं उपत्यकामा मात्रै खुलेको कारण पनि लगानी नउठ्ने भएकोले नयाँ सिनेमा ल्याउन नसक्ने अध्यक्ष अधिकारी बताउछन् ।

‘सिनेमा हल त काठमाडौं उपत्यकामा मात्रै खुलेको छ, यस्तो अवस्थामा सिनेमाको व्यापार झनै साँघुरियो त्यसकारण पनि साथीहरु नयाँ सिनेमा तत्काल ल्याउने पक्षमा हुनुहुन्न ।’ उनले भने, ‘कोभिडको दोस्रो लहरभन्दा केही समयअघि रिलिज भएका सिनेमा तत्कालको लागि प्रर्दशनमा ल्याउछौं र देशभर सिनेमा हल खुलेसंगै विस्तारै नयाँ सिनेमा पनि प्रर्दशनमा आउछन् ।

भ्याक्सिन लगाएका व्यक्तिहरु बढेका छन्, अब सिनेमा चल्छ

कोरोनाको त्रास जारी नै छ दर्शक सिनेमाहल फर्केलान भन्ने प्रश्नमा कोभिड विरुद्धको खोप लगाउने मानिसको संख्या बढेको र खोप लगाउने कार्य निरन्तर चलिरहेको कारण अघिल्लो समय जस्तो नहुने कुरा अध्यक्ष अधिकारी बताउछन् ।

‘कोभिडको पहिलो लहरपछिको समय र अहिलेको समयमा निकै फरक छ । खोप लगाएका मानिसहरु बढ्दै छन्, उनीहरुको मनोबल पनि बढेको छ ।’ उनले क्लाउड पत्रिकासंग भने, ‘यस्तो अवस्थामा मानिसहरु सिनेमा हलमा फर्किन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here