ताराखोला गाउँपालिकाले ‘भ्रमण वर्ष’ मनाउने, होमस्टे सञ्चालनको तयारी

काठमाडौं, १० असार । ताराखोला गाउँपालिका बाग्लुङले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न रु ७० लाख बजेट छुट्याइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ’, उनले भने, ‘यो वर्ष पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन्छौँ ।’

सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवास (होमस्टे) सञ्चालनलगायत पूर्वाधार तयारीका काम अघि बढाइनेछ ।

पर्यटनका लागि चाहिने न्यूनतम पूर्वाधार र सेवासुविधाका लागि बजेटमार्फत काम हुने अध्यक्ष घर्तीले बताए । प्राकृतिक सौन्दर्य, कला, संस्कृति र रहनसहनका कारण ताराखोलामा पर्यटक लोभिनेछन् । स्थानीय उत्पादनमा पनि ताराखोला अघि छ ।

यहाँको मुख्य बाली आलु र भाँगो हो । गाईघाटको झरना, डुडेलेकलगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने, असारे मेला जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिरका लागि ताराखोला उचित गन्तव्य मानिन्छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ ।

नीति, कार्यक्रममै भ्रमण वर्ष घोषणा हुनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पर्यटन विकास समिति बागलुङका उपाध्यक्ष राज थापाले बताए । ‘ताराखोला पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो’, उनले भने, ‘भ्रमण वर्षले जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’

गाउँपालिकाकै पहलमा वडा नं २ अर्गल र ५ को सीपमा घरवास (होमस्टे) सञ्चालनको तयारी छ । घरवासमा पूर्वाधार तयारीको काम भइरहेको जनाइएको छ । चालू आवमा घरवास कार्यक्रमका लागि गाउँपालिकाले रु दश लाख बजेट छुट्याएको थियो ।

पर्यटनसँगै पूर्वाधार विकास, कृषि, शिक्षा, खानेपानी, खेलकूदलगायत बजेटको प्राथमिकतामा छन् । आउँदो वर्षभित्र ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना छ ।

गाउँपालिकाले आगामी वर्षका लागि रु २५ करोड ३५ लाख ३१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । ससर्त अनुदानसहित चालूतर्फ रु १३ करोड ७० लाख, पूँजीगततर्फ रु नौ करोड ७२ लाख ३१ हजार र चालू प्रशासनिकतर्फ रु चार करोड ८५ लाख ७० हजार छ ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here