मुटुरोगबाट जोगिन बदाम !

काठमाडौं । बदाम खादा मुटुरोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।

जापानको ओसाका विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अनुसन्धानमा दैनिक बदाम खाने मानिसमा मुटुरोगको जोखिम कम हुने दाबी गरेका छन् ।

स्ट्रोक नामक जर्नलमा प्रकाशित अनुसन्धानमा दैनिक चारदेखि पाँचवटा बदाम खाने जापानका एसियाली महिला तथा पुरुषहरूमा इस्केमिक स्ट्रोक र मुटु रोगको जोखिम कम भएको उल्लेख गरिएको छ ।

अनुसन्धानका लागि दैनिक बदाम खाने मानिसहरूमा मुटु रोगको समस्या कत्तिको हुन्छ भनेर अध्ययन गरिएको थियो । मुटुरोगको जोखिमलाई कम गर्न कति समयका लागि र कति बदामको सेवन उचित हुन्छ भनेर पत्ता लगाउन दुई चरणमा अनुसन्धान गरिएको थियो ।

४५ देखि ७४ वर्ष उमेर ७४ हजार एसियाली महिला तथा पुरुषहरूमा पहिलो अनुसन्धान सन् १९९५ मा र दोस्रो अनुसन्धान १९९८ र १९९९ बीचमा गरिएको थियो ।

अनुसन्धानका क्रममा यी व्यक्तिहरूलाई दैनिक वा एक हप्तामा सेवन गरिएको बदामको मात्रा प्रश्न र उत्तरको माध्यमबाट सोधिएको थियो भने आगामी १५ वर्षसम्म उनीहरूलाई निगरानीमा राखिएको थियो । बदाम खाने एसियाली मानिसमा इस्केमिक स्ट्रोकको जोखिम कम हुने पहिलो पटक देखिएको शोधकर्ता सोतोयो केहरा बताउँछिन् ।

उनका अनुसार बदाममा मुटुलाई फाइदा हुने धेरै तत्व हुने हुँदा आहारमा बदाम समावेश गर्न फाइदाजनक हुने देखाएको छ ।

बदाममा मोनोस्याचुरेटेड फ्याट्टी एसिड, पोलिस्याचुरेटेड फ्याट्टी एसिड, मिनिरल्स, भिटामिन र फाइबर हुन्छ जसले उच्च रक्तचाप र खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ । जुन मुटुरोगको प्रमुख जोखिम कारक हुन् ।

दैनिक जीवनमा बदाम वा अन्य नट्स आहारमा समावेश गर्दा रोगको जोखिम कम हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here