भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो, नेपालले १० लाख डोज कोभिसिल्ड पाउने

काठमाडौं, ५ असोज । भारतले कोभिड–१९ विरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यातको प्रतिबन्ध हटाएको जनाएका हुन् ।

भारतको निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ ।

नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।

रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिए ।

विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।दक्षिण एसियाका दुई मुुलुक श्रीलंका र बंगलादेशले पनि नेपालले जस्तै पहिले नै भुक्तानी गरेअनुसार खोप पाएका छैनन् ।

श्रीलंकाले १५ लाख डोज कोभिसिल्ड अर्डर गरेकोमा पाँच लाख डोज मात्रै पाएको छ । उसले बाँकी १० लाख डोजका लागि ताकेता गर्दै आएको थियो । बंगलादेशले सेरमसँग तीन करोड डोज खोप खरिद सम्झौता गरेको थियो ।

बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार उसले ७२ लाख डोज मात्रै प्राप्त गरेको छ । अब बाँकी खोप नेपालसहित अन्य मुलुकले पनि पाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री माण्डव्यले सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले अक्टोबरमा ३० करोड डोज कोभिसिल्ड खोप प्राप्त गर्ने र नोभेम्बरमा एक अर्ब डोज खोप प्राप्त गर्ने बताए ।

भारतले कोभ्याक्सअन्तर्गत पनि पूर्वप्रतिबद्धताअनुसार योगदान दिने उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द वायरले जनाएको छ ।

भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणासँगै सोही बेला नेपालले पनि पाउन बाँकी डोज खोप पाउने खबरलाई परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ । जसअनुसार नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्नेछ ।

नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here