बालोन डी’ओर पावर र्‍याङ्किङको पहिलो स्थानमा मेस्सी, अन्य कहाँ ?

काठमाडौं । विश्व फुटबलकै सर्वाधिक प्रतिष्ठत अवार्ड बालोन डी’ओर को र्‍याङ्किङ सार्वजनिक भएको छ । फ्रान्स फुटबल महासङ्घले दिने उक्त अवार्डको नयाँ वरीयता सोमबार सार्वजनिक भएको छ ।

नयाँ वरीयताको अनुसार अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर लियोनल मेस्सी सबैभन्दा अगाडि छन् ।

अर्जेन्टिनाको सिनियर टिमबाट पहिलो पटक उपाधि जितेका मेस्सीलाई यसपटक बालोन डी‘ओरको प्रबल दाबेदारका रूपमा हेरिएको छ ।

त्यसबाहेक प्रतियोगिताकै उत्कृष्ट ठहरिएका मेस्सी अब सातौँ पटक बालोन डी‘ओर जित्ने अपेक्षामा छन् । उनले यसअघि ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारेका थिए । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे ।

मेस्सीले पिएसजीमा तीन खेल खेल्न पाएका छन्, जसमा उनी गोलविहीन छन् । यो वर्ष अन्तर्राष्ट्रिय खेलमा उनको नाममा ३६ गोल रह्यो ।

यस्तै, दोस्रो स्थानमा पोल्यान्डका फरवार्ड लेवान्डोस्की छन् । जसले गत जनवरीयता यो वर्ष बायर्न र पोल्यान्डका लागि ४८ गोल गरिसकेका छन् । नयाँ बुन्डेसलिगामा पनि उनले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेका छन् । जर्मन लिगमा उनले पाँच खेल खेल्दा सात गोल गरेका छन् ।

अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने आठौँ स्थानमा छन् । हालैमात्र युभेन्टसबाट युनाइटेड सरुवा भएका पोर्चुगिज स्ट्राइकर रोनाल्डोले यस वर्ष ३३ गोल गरेका छन् । १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका ३६ वर्षीय रोनाल्डोले हालैमात्र युनाइटेडबाट दोस्रो पटक डेब्यु गरेका छन् ।

हालैमात्र रोनाल्डो एक सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

यस्तो छ टप १० लिस्ट

१. लियोनल मेस्सी
२. रोबर्ट लेवान्डोस्की
३. जार्गिन्हो
४. एनगोलो कान्टे
५. रोमेलु लुकाकु
६. इयर्लिङ हालान्ड
७. किलियन एम्बाप्पे
८. क्रिस्टियानो रोनाल्डो
९. केभिन डी ब्रुयन
१०. करिम बेन्जेमा