दिनमा तीन पटक ब्रस गर्दा हृदयघातको जोखिम पनि कम

काठमाडौं । दिनमा तीन पटक ब्रस गर्दा हृदयघातको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।

यूरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डिओलोजीमा प्रकाशित अनुसन्धानका अनुसार दिनको तीन पटक ब्रस गर्ने मानिसहरूमा हृदयघातको जोखिम १२ प्रतिशतले कम हुने पाइएको हो ।

अनुसन्धानकर्ताहरूले दाँतको सरसफाइलाई हर्ट फेल र मुटुको चाल अनियमित हुने रोगसँग जोडेर हेरेका छन् । दिनमा पटक पटक ब्रस गर्नाले दाँतमा र गिजामा रहेको हानिकारक ब्याक्टेरियाको सङ्ख्या कम हुन्छ ।

जसले ब्याक्टेरियाहरू रक्तप्रवाहमा मिसिन नदिने अनुसन्धानको निष्कर्ष छ । दक्षिण कोरियाका वैज्ञानिकहरूले सन् २००३ र २००४ को बीचमा ४० देखि ७९ वर्ष उमेर समूहका एक लाख ६१ हजार मानिसहरूमा अध्ययन गरेका थिए ।

ओरल हाइजिन र मुटुको समस्याबीचको सम्बन्ध पत्ता लगाउन उनीहरूको मुख र मुटुको नियमित परीक्षण गरिएको थियो ।

१० वर्षको अनुसन्धानपछि पाँच प्रतिशत मानिसमा मुटुको समस्या र तीन प्रतिशतमा अट्रिअल फिब्रिलेसन (अनियमित मुटुको दर) को समस्या पाइयो । त्यस्तै, दिनमा तीन वा सोभन्दा बढी पटक ब्रस गर्ने मानिसमा हृदयघातको जोखिम १२ प्रतिशत र अट्रिअल फिब्रिलेसनको जोखिम १० प्रतिशत कम हुने अध्ययनले देखाएको छ ।

मुखको सरसफाइमा भएको लापरवाहीले रगतमा ब्याक्टेरिया मिसिन गई शरीरमा इन्फ्लामेसनको कारण बन्न सक्छ । यसले अनियमित मुटुको चाल र हर्ट फेलको जोखिम बढाउँछ । डेली मेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here