बुद्धभूमिको आइपीओ पहिलो दिनमै माग भन्दा ८ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, ११ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधरण शेयर (आइपीओ) मा आवेदनको ओइरो लागेको छ ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार पहिलो दिन ५ बजेसम्म ४ लाख ४४ हजार ९४७ जनाले ५८ लाख २८ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.८३ गुणा बढी हो ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल ८ लाख कित्ता शेयरमध्ये १६ हजार कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here