मध्य भोटेकोशीको आइपीओ असोज २० देखि खुल्ने

काठमाडौं, १३ असोज । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याउने भएको हो ।

निष्काशन हुने कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन्।

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीको आइपीओलाई ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ ।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here